हाम्रो बारेमा

वनस्पति अनुसन्धान केन्द्र सल्यान, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागका सात मध्येको एक अनुसन्धान केन्द्र हो। वि.स. २०१६ मा नेपालको वनस्पति विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरि वनस्पति स्रोतको सदुपयोग तथा प्रवर्द्वन गर्ने मुल उद्वेश्य लिई स्थापना भएको वनस्पति विभागले आर्थिक वर्ष २०५६/५७ को विभागिय संगठनिक ढाँचा परिवर्तन अनुरुप वि.स.२०५६ सालमा विभिन्नन ७ जिल्लाहरुमा वनस्पति कार्यालयहरुको स्थापना गर्ने क्रममा वन तथा वातावरण मन्त्रालय (साविकको वन तथा भू-संरक्षण मन्त्रालय), वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानको (साविकको जिल्ला वनस्पति कार्यालय) स्थापना भएको हो। कर्णाली प्रदेशको सल्यान जिल्लाको कपुरकोट गाँउपालिका-३,मूलपानीमा यो कार्यालय रहेको छ।

मुलपानी वनस्पति उद्यान राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट देखी २.५ कि.मि उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ। समुन्द्र सतहवाट १४२० मि. को उचाईमा रहेको यस वनस्पति उद्यानले ५.५ हे. क्षेत्रफल ओगटेको छ। स्थापना काल देखि नै यस संस्थाले वनस्पतिको स्वस्थानिय र पर-स्थानिय संरक्षण, वैज्ञानिक अध्ययन, अनुसन्धान, प्रविधी विकास, जनचेतना अभिवृद्वि, जस्ता कार्यहरु संचालन गरिरहेको छ।

मूलपानी वनस्पति उद्यानको वानस्पतिक अभिलेखको कुरा गर्दा हालसम्म १५६ वानस्पतिक परिवार, ४०५ जातीका ५५१ प्रजातीहरुको लेखाजोखा भाई सकेको छ र यो क्रम निरन्तर छ । ती मध्ये स्व-स्थानिय २५७ प्रजाती र विदेशी शोभनिय विरुवाहरु सहित २९४ प्रजाती पर-स्थानिय विरुवा रहेका छन। मूलपानी वनस्पति उद्यानमा संरक्षित कुल ५५१ प्रजाती मध्ये घांस, पोथ्रा र रुखका आधारमा पोथ्रा प्रजातीको वाहुल्यता रहेको पाईन्छ जुन २४८ प्रजाती छ । त्यसपछि क्रमश: रुख १३३, बुट्यान ९९, लहरा ३७, इपिफाइट ३४ प्रजाती रहेका छन।

समग्रमा एन्जियोस्पर्म (फूल फुल्ने विरुवाहरु) ४९५, जिम्नोस्पर्म (कोणधारी विरुवा) १९ प्रजाती र उन्यू ३७ प्रजाती रहेका छन् । ती मध्ये २०१ प्रजाती शोभनिय वनस्पतिको रुपमा संरक्षण गरिएको छ। ३४ प्रजातीहरु एभिन्यु रुखको रुपमा उपयोगी पाइएका छन र १२ प्रजाती गार्डेनमा हेज वनाउन प्रयोग भइरहेका छन भने ५२ प्रजाती विदेशी विरुवाको रुपमा सुचिकृत छन् । सुनगाभा अथवा सुनाखरी सहित गार्डेन भित्रको क्षेत्रमा ६६ प्रजातीहरु दुर्लभ लोपोन्मोख र साइटिसमा सुचिकृत वनस्पतिको रुपमा संरक्षित छन् । ८ प्रकारका धार्मिक र ६ प्रकारका मिचाहा प्रजातीहरु रहेका छन् । २४५ प्रजाती औषधीय वनस्पतिको रुपमा पाइन्छन् । यस उद्यानमा रक गार्डेन (ढुङे बाटिका), फिजिक गार्डेन (जडिबुटी बाटिका), जलिय गार्डेन, ड्रिम गार्डेन, शैक्षिक गार्डेन,इथनोबोटानिकल गार्डेन, दूर्लभ लोपोन्मुख गार्डेन ,ट्याक्सोनोमिकल फ्यामलि गार्डेनजस्ता ८ वटा थेमाटिक युनिटहरु रहेका छन र फर्न हाउस, क्याक्टस हाउस, अर्किड हाउस नामक तिनवटा जर्मप्लाज्म संरक्षित इकाइ रहेका छन् ।

यस उद्यानमा संरक्षित महत्वपुर्ण जडिबुटिमा टिमुर, तेजपात, काउलो, अमला, हर्रो, वर्रो, सुगन्धकोकिला, सुगन्धवाल, कुरिलो, रिठ्ठा आदि रहेका छन भने ३० प्रकारका दुर्लभ लोपोन्मुख वनस्पतिमा सुनाखरीहरु, काकरसिंगी, टटेलो, लौठसल्ला, सतिसाल, विजयसाल, कलबल, गुन्सी चिराइतो आदि रहेका छन् । गार्डेन व्यवस्थापनका अलावा वनस्पति अनुसन्धान केन्द्र,सल्यानले प्रजाती विकास, मिचाहा वनस्पतिको असर, महत्वपूर्ण जडिबुटि र सजावटी वनस्पतिको प्रसारण विधी, वनस्पतीहरुको खोज, अभिलेखिकरण लगायत वनस्पती क्षेत्रका बिभिन्न बिधाहरुमा अनुसन्धान कार्य गरिरहेको छ।

कर्णाली प्रदेशका घुम्न लायक ठाउँं मध्ये एक बनाउने लक्ष्यका साथ अघि बढेको मुलपानी वनस्पती उद्यान सल्यान जिल्लाका पर्यटकिय क्षेत्र मध्ये एक बन्दै गइरहेको छ । उद्यान बर्ष भरि नै खुला रहन्छ र यस उद्यानमा कार्यालय समयमा जोसुकैले पनि सहजै निशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ। वर्षेनी ५००० आगन्तुकहरुले यस उद्यान भ्रमण गर्ने गरेका छन् । साथै उद्यान क्षेत्र विद्यार्थी, अनुसन्धानकर्ताका लागि शैक्षिक हवको रुपमा विकास भइरहेको छ। आगन्तुकहरु प्राय सल्यान, दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेत लगायतका जिल्लाहरुवाट आउने गर्दछन् । वनस्पती अनुसन्धान केन्द्र, सल्यान यहाँहरुलाई स्वागत गर्न हरपल आतुर छ ।